काठमाडौं– बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो ।
मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । घर्तीका अनुसार पुल मर्मत सँभार गर्नका लागि मात्रै एक करोडभन्दा बढी खर्च लाग्नेछ ।
यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।
‘अविरल वर्षासँगै आएको बाढीबाट ताराखोलामा ठूलो भौतिक क्षति भएको छ’, अध्यक्ष घर्तीले भने ‘बाढीका कारण झोलुङ्गे पुल, मोटरेबल पुल, जलविद्युत् तथा सडकमा क्षति पुगेको छ ।’ घर्तीले सडक, जलविद्युत् तथा पुल मर्मत कार्य गर्न थालिए पनि ठूलो खर्च लाग्ने बताए ।