काठमाडौं– शनिबार राति काठमाडौंको सडकमा केही गाडीहरुका साथमा एक हवाईजहाज पनि सडकमै गुडेको दृश्यले सबैलाई चकित पार्यो । आकाशमा उड्ने विमान सडकमा गुड्दा अचम्म नलाग्ने कुरै भएन, अझ सहरको मुख्य सडकमा ।
तर रमाइलो त के भने, विमानको दुईतिरको पखेटा थिएन । अरुबेला चराजस्तो देख्ने विमान सडकमा पखेटा विना गुड्दा सुलुत्त परेको रकेट जस्तो देखिन्थ्यो । अझै रमाइलो त विमानलाई अर्को एक गाडीले अगाडिबाट तानिरहेको थियो ।
वास्तवमा सो विमान त्रिभुवन विमानस्थलबाट नारायणहिटी दरबार संग्रहालय लगिन लागेको थियो। नेपाली सेनाको एनए ०२० एभ्रो विमानलाई संग्रहालयमा संग्रहित गर्न र संग्रहालयको आकर्षण बढाउन लगिएको हो । विमानलाई सडकमा गुडाइएको नेपालमा सम्भवतः पहिलो घटना हो ।
विमानस्थलमा बिग्रेर थन्किएको विमानलाई गाडीले तानेर सडकमा गुडाउँदै लानुपर्ने हुँदा विमानको पखेटा निकालिएको हो । त्यति हुँदाहुँदै पनि विमान तीनकुनेस्थित रेलिङमा ठोकिएको थियो । विमानलाई सेना र ट्राफिक प्रहरीले व्यवस्थित गर्दै नारायणहिटी पुर्याएको छ ।
सरकारले पूर्व राजा वीरेन्द्रले प्रयोग गरेका विमानहरु संग्रंहालयमा संग्रहित गर्ने निर्णयअनुसार रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेनाको एभ्रो विमान लैजाने अनुमति विमानस्थलले दिएको हो । सो विमान पूर्व राजा वीरेन्द्रले वैदेशिक भ्रमण गर्दा प्रयोग गर्ने गरेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको आधिकारिक रंग र प्रतीक चिन्ह भएको सो विमान नारायणहिटीमा सर्वसाधारणले हेर्न पाउनेछन् । विमानलाई राजकीय प्रयोजनको लागि वि.सं. २०३१ सालमा नेपाल ल्याइएको थियो । यसअघि राजा वीरेन्द्रले प्रयोग गर्ने सेनाको हेलिकप्टर संग्रहालय पुर्याएको थियो ।