काठमाडौं– आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो ।
कोभिड– १९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको छैन । सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन भनिएको बताए ।
मन्त्रालयले कोभिड– १९ प्रकोप नभएको ठाउँमा भने कार्यक्रम गर्न भनेको छ । यसपटक निबन्ध र कविता प्रतियोगिता मात्र केन्द्रले राखेको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मीले दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीको दायित्व भएको बताए ।
उनले निजामती सेवामा संलग्न कर्मचारीको सेवा प्रवाहको प्रभावकारिता नै नागरिक सामु देखिने सरकारको प्रतिविम्ब भएकाले यस सेवामा आबद्ध सबै राष्ट्रसेवकले जिम्मेवारी तथा उत्तरदायी भएर पेशागत मर्यादा कायम राखी कर्तव्यपालनमा व्यावसायिक निष्ठा र निष्पक्षताका साथ डटेर लाग्नुपर्ने बताए ।
सन्देशमा उनले भनेका छन्, ‘कर्मचारीले विगतमा गरेका कामको मूल्याङ्कन एव आत्मसमीक्षा र भविष्यमा सम्पादन गर्नुपर्ने कामप्रति बढी जिम्मेवार रहने प्रण गरेमा मात्र राष्ट्रिय आकाङ्क्षा तथा लक्ष्य हासिल गर्नेमा महत्वपूर्ण योगदान पुग्नेछ ।’
एनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा पूर्ण प्रतिबद्धताका साथ लाग्न तथा मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा सकारात्मक भई अघि बढ्न सबै राष्ट्रसेवकमा अपिलसमेत गरे ।
मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले शुभकामना सन्देश दिँदै कर्तव्य बोध र चित्तशुद्धिसहित सेवा प्रवाहमा सक्रिय रही जनअपेक्षाअनुसार कार्य गर्न कर्मचारीलाई आग्रह गरे ।
उनले सबै राष्ट्रसेवकले सेवा प्रवाह गर्ने क्रममा स्वच्छता, पारदर्शिता, व्यावसायिकता एवं जवाफदेहिता जस्ता आधारभूत पक्षलाई आत्मसात् गर्नु जरुरी रहेको उल्लेख गर्दै राज्यलाई नागरिकको घरदैलोमा पु¥याउने माध्यम निजामती सेवा भएकाले आफ्नो पेशागत दक्षता र क्षमताको पूर्ण उपयोग गरी जनताको अधिकतम सन्तुष्टिका लागि क्रियाशील रहन तथा जनस्तरमा निजामती सेवामाथि उठेका प्रश्नप्रति सचेत रही आफ्नो चारित्रिक शुद्धता कायम राख्ने जिम्मेवारी आफँैले ग्रहण गर्नसमेत निजामती कर्मचारीलाई आह्वान गरे ।
कोभिड– १९ को आक्रान्त भएका बेला कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै उनले सन्देशमा भने छ, ‘आफ्नो मर्यादालाई अक्षुण राख्दै देश र जनताप्रति समर्पित कर्मचारीलाई आफ्नो कर्तव्यपथमा अविचलित यात्रीका रुपमा अटल रहनसमेत आग्रह गरे ।