काठमाडौं– नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य एवं राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता तथा सेवाग्राही शाखा प्रमुख राजाराम कार्कीमाथि आज भएको साङ्घातिक आक्रमणको निन्दा गरिएको छ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा काभ्रेले आज विज्ञप्ति निकालेर कार्कीमाथि भएको आक्रमणको निन्दा गरेको हो ।
कार्कीमाथि आज बिहान ९ः३० बजे घरायसी सामान खरिद गर्न बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्क नजिकै रहेको चामुन्डा हार्डवेयरमा पुगेको अवस्थामा आक्रमण भएको थियो । उनीमाथि भक्तपुरको सूर्यविनायक नगरपालिका –१० घर भई बनेपा नगरपालिका वडा–१४ साँगास्थित नेपाल प्रहरी स्कुलका नेपाली विषयका पढाउने शिक्षक उद्धव कार्कीले पुरानो हिसाबकिताव बाँकी भएको भन्दै एक्कासि आक्रमण गरेका थिए ।
जिल्ला शाखा काभ्रेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘घटनामा संलग्न दोषी उद्धव कार्कीलाई कडा कारबाहीको माग गर्दछौँ ।’ काभ्रे शाखाले कार्कीको तत्काल उपचार र उनलाई क्षतिपूर्तिसमेत सम्बन्धित व्यक्तिबाट भराउन माग गरेको छ, साथै घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
