काठमाडौं - सर्लाही जिल्लामा निषेधाज्ञाको समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ ।
खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिएको अवस्थामा जिल्लाका विभिन्न नदीबाट निर्वाधरूपमा नदी दोहन भइरहेको बताइएको छ ।
गत असार, साउन र यही भदौमा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भएपनि ‘के गर्ने के नगर्ने’ भन्दै प्रहरी र स्थानीय निकायको तालमेलबीच नदीजन्य पदार्थ दोहन भइरहेको जनाइएको छ।
दिउँसो थोरै मात्रामा मालवाहक सवारी साधनले नदी दोहन गरे पनि रातको समयमा सयौँको सङ्ख्यामा नदीमा पस्ने र नदीजन्य पदार्थ निकासी गर्ने गरेका छन् ।
जिल्लाको चापीनी, लखनदेही, कालीन्जोर, फुजोर तथा बाँकेखोलामा यसरी नदीजन्य पदार्थ निकासी पैठारी भइरहँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन्।
आफूहरुले आफ्नो घर बनाउन एक/दुई टिप बालुवा निकाल्ने गरेको भए पनि प्रहरीले अनेकौँ बाहना बनाएर दुःख दिने गरेको स्थानीयले बताएका छन्।
व्यवसायीहरुले व्यावसायिकरूपमा नदी दोहन गर्दा पनि प्रहरी प्रशासन मौन बसेको उनीहरुको गुनासो रहेको छ । रासस