धादिङको झाप्लेखोला । बिहीबार, रातको ११ः३० बजे । बा४ख ८४६९ नम्बरको ट्रिपर हुइँकिँदै आयो । चालकले झ्याप्प ब्रेक हाने अनि हर्न बजाए निरन्तर ।
ट्रिपर जाममा परेको थियो । काठमाडौं आउजाउ गर्ने ट्रिपर, ट्रकलगायतका सवारी साधनका कारण झाप्लेखोलामा जाम भएको थियो ।
कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि नियन्त्रणको प्रयासस्वरूप मुलक नै ठप्पप्रायः छ । स्थानीय प्रशासनले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेका छन् । के कस्ता सवारी साधन चलाउन गर्न पाइने भनेर नियमसमेत बनाइएको छ ।
तर, झाप्लेखोलामा देखिएको यस दृश्यले नियमको खिल्ली उडाइरहेको थियो । त्यहाँ चेकजाँच थिएन, प्रहरीको उपस्थितिसमेत भएन ।
‘नियमको केही मतलब छैन,’ एक स्थानीयले भने, ‘लकडाउन भए पनि नभए पनि यहाँ सधैँ यस्तै हो ।’
रातिको ९ बजेपछि यहाँको दृश्य प्रायः यस्तै हुन्छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी धादिङबाट निस्कने सवारीहरू आफ्नो पूर्ण निगरानीमा निस्कने गरेको बताउँछन् ।
‘हामीले खानीखोलामा कडा चेकजाँच गरेर मात्र सवारी छाड्ने गरेका छौ,’ उनले भने, ‘ट्रिपरलगायतका ढुवानीका साधनहरू ९ बजेपछि मात्र छाड्ने गरेका छाैँ ।’

यद्यपि झाप्लेखोला भने जिल्ला प्रहरी कार्यालय धादिङको कार्यक्षेत्रमा नपर्ने उनले स्पष्ट पारे ।
यता महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले मालवाहक सवारीको चेक गर्नु नपर्ने बताए । ‘यता नागढुंगामा नै हामीले कडा निगरानी गर्ने गरेका छौं,’ उनले भने ।
सरकारले निर्माण सामग्री ढुवानी गर्ने सवारीलाई राति ९ बजेपछि मात्र चल्ने दिने हुँदा राति सवारी व्यवस्थापन असहज बनेको स्थानीयको भनाइ छ । मालवाहक सवारी दिउँसो पनि चल्न पाएको खण्डमा राति सवारीको चाप कम हुने उनीहरूले बताए ।