रियाद– विश्वका ठूला अर्थतन्त्र भएका देशको संगठन जि–२० का विदेशमन्त्रीले आफ्ना सीमालाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि–२० मा आबद्ध देशहरुले आफ्ना सिमाना खोल्नुपर्ने बताएका हुन् ।
बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरुले यस विषयमा जोड दिएका हुन् । हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको भन्दै यसबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकाले उनीहरुले यो आग्रह गरेका हुन् ।
भारतका विदेशमन्त्री एस जयशंकरले महामारीपछि जतिसक्दो चाँडो जि–२० मा सहभागी देशहरुले आफ्ना देशमा सीमाहरु खोल्नुपर्नेमा सबैको एकमत रहेको बताए । साउदी अरेबियाको पहलमा जि २० को भर्चुअल बैठकको आयोजना गरिएको थियो ।