काठमाडौं– सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । काठमाडौंं उपत्यकाभित्र कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि सेयर बजारमा त्यसले कुनै प्रभाव पारेको छैन ।
लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोबारमा कुनै पनि उल्झन नआएको हो । बरु दैनिकजसो नै कारोबार रकममा वृद्धि भएको छ । मुलुकको अर्थतन्त्र चलायनमान अवस्थामा रहेको धितोपत्र बजारमा देखिएको उत्साहले संकेत गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा २२.३३ अंकको सुधार आएको छ । नेप्से झन्डै एक हजार ५०० को बिन्दु नजिक पुग्न लागेको छ । कूल २२.३३ बिन्दुले नेप्सेमा वृद्धि भई एक हजार ४८४.९९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.०५ ले वृद्धि भई २९८.३५ मा पुगेको छ । कूल १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता सेयर ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार आज कारोबार भएका कुल १२ उपसमूहमध्ये एक उपसमूहको मात्रै सेयर ओरालो लागेको छ भने ११ उपसमूहको सेयर वृद्धि भएको छ । होटल उपसमूह ०.७७ बिन्दुले घट्दा बैंकिङ ४.९५, व्यापार १८.०५, विकास बैंक १.५, जलविद्युत् ३३.६१, वित्त १।१, निर्जीवन बिमा २३३.७, उत्पादन ८८.७१, अन्य ३७.४, लघुवित्त ८.५८, जीवन बिमा २६०.३३ र सामूहिक लगानी कोष ०.०८ ले वृद्धि भएको छ ।
कारोबार धेरै गर्ने कम्पनी
कारोबारका आधारमा आज पनि नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ७४ लाख ५७ हजार २२८ बराबरको कारोबार भयो । यस्तै नेको इन्स्योरेन्स १७ करोड ७८ लाख १९ हजार ७०४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र १६ करोड ८१ लाख १३ हजार ३१७, शिवम् सिमेन्ट १५ करोड ७१ लाख ७६ हजार ७५९, हिमालयन डिस्टिलरी १५ करोड ३२ लाख ३४ हजार ४२६ र सूर्या लाइफ इन्स्योरेन्स १२ करोड ८७ लाख चार हजार ६४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
धेरै कमाउने कम्पनी
स्टकका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी १०, उन्नति सहकार्य लघुवित्त ९.९४, एनआरएन इन्फ्रास्टकचर ९.९४, सिनर्जी पावर कम्पनी ९.६५, अरुण काबेली पावर ९.४५, रैराङ हाइड्रोपावर ९.२८, पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९.२४ प्रतिशतले कमाए ।
गुमाउने कम्पनी
यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनी ७.२९, घोडीघोडा लघुवित्त ४.५८, ओरियन्टल होटल लिमिटेड ३.७२, मितेरी डेभलपमेन्ट बैंक २.६२, गुह्यश्वरी मर्चेन्ट बैंक २.३८ र सिन्धु विकास बैंकका सेयरधनीले २.३८ प्रतिशतले गुमाए ।