काठमाडौं– कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु पनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका विनोद यादवले बताए, ‘बन्दाबन्दीअघि कुखुराको बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो, बजारको पनि अभाव थिएन । बन्दाबन्दीपछि कुखुराको बिक्री ह्वातै घट्यो, बिक्रीका लागि तयारी अवस्थामा रहेका एक हजार ६०० कुखुरा विक्री भएन, यसले आाफूलाई ठूलो आर्थिक नोक्सानी भएको छ ।’
उनले अगाडी भने, ‘घरमा भएको दाना सकिँदै जाँदा खरिद गर्नलाई रकमको अभाव भयो । पसलेले उधारोमा दिन पत्याएनन्, करीब ९०० वटा कुखुरा दाना नपाएर म¥यो ।’ दानाको अभावमा कुखुरा धमाधम मर्न थालेपछि बाँकी कुखुरा कम मूल्यमा बिक्री गर्न वाध्य भएको र कतिपय कुखुरा त आफन्तलाई सित्तैमा पनि दिएको यादवले बताए ।
बन्दाबन्दीअघि जिउँदो कुखुरा घरबाटै प्रतिकेजी १८० का दरले बिक्री हुन्थ्यो । तर बन्दाबन्दीका कारण दाना नपाएर कुखुरा मरेपछि २ हजार ७०० केजी मासु नष्ट गर्नुपरेको र यसबाट आफूलाई चार लाख ८६ हजार नोक्सान भएको उनी बताउछन् । मर्नुभन्दा पहिले वितरण गरेको कुखुराबाट अनुमानित दुई लाखको व्यापार भएको यादवको भनाइ छ ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिका कनरपट्टीस्थित कृष्ण साहले सञ्चालन गरेको कृष्ण पोल्ट्री फार्ममा गएको माघ ६ गते एक हजार चला ल्याइएको थियो । व्यवसाय बढाउन साहले बैंकबाट ऋण समेत लिए । फागुन अन्तिमतिर चल्ला बढेर बिक्रीका लागि तयार भयो । तर, चैतको ११ गतेदेखि शुरू भएको बन्दाबन्दीका कारण २५९ वटा कुखुरा मात्र बिक्री गर्न भ्याए, बाँकी ८४१ कुखुरा यत्तिकै खेर गयो । बन्दाबन्दीका कारण डिलरले तयार भइसकेको कुखुरा नलगेपछि प्रतिकिलो रू. ५० मा बिक्री गर्न वाध्य भएको उनको भनाइ छ । ‘बन्दाबन्दीका कारण डिलरले कुखुरा नउठाउँदा लगानी डुब्यो’, उनले भने, ‘कर्जा लिएर गरेको व्यवसाय नै डुब्यो, अब कसरी कर्जा तिर्नु ?’
बन्दाबन्दीअघि साहले प्रतिकिलो १६० देखि १८० मा बिक्री गरेको कुखुरा बन्दाबन्दीपछि प्रतिकिलो ५० मा बिक्री गर्नुपरेको बताए । बन्दाबन्दीका कारण चार लाख ५४ हजारभन्दा बढी नोक्सानी भएको उनको भनाइ छ । सानो लगानीबाट कुखुरा पालेर राम्रो आम्दानी गर्न सफल यादव र साहशस्ता थुप्रै व्यवसायीहरू कोरोना भाइरसको चपेटामा परेका छन् ।
कुखुरापालक व्यवसायीका अनुसार बन्दाबन्दीअघि ३ हजारमा पाइने दानाको मूल्य बन्दाबन्दीमा. चार हजारदेखि पाँच हजार ४०० सम्म पुगेको थियो । त्यो पनि समयमा पाउन मुश्किल छ ।