काठमाडौं– रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएका एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारका सबैलाई कोरोना संक्रमण भएको छ ।
सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत नै छन् । भदौ ७ मा नागरिक अस्पतालमा अन्य पाँच जनाको पिसीआर परीक्षण गरियो । उनीहरुको रिपोर्ट पनि पोजेटिभ आयो । भदौ ७ मा निजामती अस्पतालमा भर्ना भएकी सङ्क्रमितकी छोरी ८ गते सुत्केरी भइन् र ९ गते डिस्चार्ज भइन् ।
बुबालाई कोरोना सङ्क्रमण भएर पाटन अस्पताल लगेपछि सोही अस्पतालमा पाँच हजार ५०० तिरेर उनले पनि १० गते पिसीआर गरिन् । ११ गते सुत्केरीमा पनि सङ्क्रमण देखियो । परिवारका अन्य १० जनाको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा पिसीआर गरियो । अन्ततः परिवारका सबैमा कोरोना सङ्क्रमण देखियो ।
उनीहरुलाई कहाँ जाने र के गर्नेको अवस्थामा रहेका छन् । संक्रमित परिवारका छोराले भने, ‘बुबालाई शुरुमा कोरोनासँग मिल्ने लक्षण देखियो । साधारण रुघा, ज्वरो होला भनेर घरमै बसियो, कम नभएपछि कोरोना परीक्षण गराउँदा तीन दिनमा रिपोर्ट आयो । लक्षण देखेर रिपोर्ट आउने बेलासम्ममा घरमा बसेको एक साता भइसकेको थियो । त्यसपछि बल्ल उहाँलाई उपचारका लागि पाटन अस्पताल लगियो ।’
जनस्वास्थ्य कार्यालयले घरमै बस्नु कहीँ नजानु भनेपछि परिवार सबै घरमै बसेका थिए । सङ्क्रमित एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचालयबाटै परिवारका अन्य सदस्यमा पनि कोरोना सङ्क्रमणक भएको अनुमान जिल्ला स्वस्थ्य कार्यालयको छ ।
एकबाट १४ जनामा सङ्क्रमण फैलिनु त्यो परिवारका लागि निकै कष्टकर समय थियो । चार दिन र तीन महिनाका दुई सुत्केरी, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृद्धासहित उनीहरुको परिवारलाई न दिनमा भोक, न रातमा निद्राझैँ भएको बेलामा अर्को आपत्ति आइलाग्यो । वडाध्यक्षसहितको जनप्रतिनिधि र स्थानीय केही व्यक्तिले टोलमा सङ्क्रमण फैलिन सक्छ भन्दै प्रहरीकै अगाडि घर छाड्न दबाब दिन थालेको बताइएको छ ।
‘एकातिर जनस्वास्थ्य कार्यालयले घर नछाड्नु अन्त पठाउन सकिन्न भन्छ, अर्कोतर्फ स्थानीय घर छाडेर उपचारमा जाओ भन्छन्, उपचार गर्न कसलाई मन हुँदैन र ? अब के गर्ने ? कहाँ जाने ? त्यही बेलामा वडाध्यक्षले बोलाएको भन्दै १०२ को एम्बुलेन्स आएपछि सबैले दबाब दिए, हामी बाध्य भएर एम्बुलेन्स चढ्यौँ’, परिवारकी महिला सदस्यले बताइन् ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले यस्तो विपद्मा बच्चा बोकेर सुत्केरी आइसोलेसनमा आउनु पीडादायक भएको बताउँदै सुत्केरीलाई स्याहार नहुने भएकाले घरमै फर्काउन माथिल्लो निकायसम्मलाई भन्नुपरेको बताइन् ।
स्वास्थ्यकर्मीले घर फर्किन भनेपछि सङ्क्रमितका परिवार झन् पीडामा पुगे । गाउँले घर नबस भन्छन्, आइसोलेसनका स्वास्थ्यकर्मी यहाँ नबस भन्छन्, अब जाने कहाँ, महिला, बालक र ज्येष्ठ नागरिकको मनमा निकै पीडा भयो । अन्तत: शुक्रबार राति ९ बजे पुनः एम्बुलेन्समा राखेर सबै परिवारलाई बोडेस्थित टहरामै फर्काइयो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सङ्क्रमितलाई सहयोग गर्नुपर्नेमा स्थानीयवासीले नै घर छोड्न दबाब दिएको थाहा पाएपछि तत्काल प्रहरीलाई उनीहरुको घरमै बस्ने व्यवस्था मिलाउन र अवरोध गर्नेलाई कारवाही गर्न भनेपछि राति उनीहरुलाई फर्काइएको जानकारी दिनुभयो । उहाँले विपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्नेमा अपहेलना गर्नु कानूनविपरीत रहेको जनाउँदै मानिसमा मानवता हराउँदै गएको आभाष भएको बताए । बोडेका सङ्क्रमित परिवारलाई अहिले वडाध्यक्षसहितका केही स्थानीयवासीले खाद्यान्नलगायतका सामग्री सहयोग गरेको र उनीहरुलाई भित्रै बस्न भनिएको छ ।
आइसोलेसनमा सुत्केरीको स्याहार नपुग्ने भएकाले घरमै फिर्ता गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए । सरकारको नीतिअनुसार पनि होम आइसोलेसनमा बस्नुपर्ने भएकाले सबैलाई आइसोलेसनमा राख्न नसकिने उनले बताए ।
रासस