हेटौंडा– मदन भण्डारी फाउन्डेसन मकवानपुरले हेटौंडामा ‘खाद्य बैंक’ सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका तथा विपन्न परिवारलाई लक्षित गरेर फाउन्डेसनले अभियानका रूपमा खाद्य बैंक सञ्चालन गर्न लागेको हो ।
फाउन्डेसनले आगामी सोमबारदेखि हेटौँडाको अटोल्याण्ड चोकमा खाद्य पदार्थको सङ्कलन तथा वितरण केन्द्र स्थापना गर्न लागेको फाउन्डेसनका जिल्ला अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक सङ्कटले बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका तथा न्यून आय भएका परिवारलाई लक्षित गरेर खाद्य बैंक सञ्चालन गर्न लागिएको उनले बताए ।
फाउन्डेसनले सोमबारबाट ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियान सुरु गर्न लागेको उनको भनाइ छ । अभियानमा नगद तथा जिन्सी दुवै सहयोग गर्न सकिने उनले जानकारी दिए ।