नुवाकोट– गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाअन्तर्गत गेर्खु बेत्रावती सडकखण्डमा रहेका जग्गादाताले अब मुआब्जा पाउने भएका छन् । सांसद नारायणप्रसाद खतिवडाले शुक्रबार गेर्खु बेत्रावती सडकखण्डका जग्गादाताले मुआब्जा पाउने जानकारी दिएका हुन् ।
उनले यही भदौ ८ गते स्थानीय, प्रदेश, संघीय सरकारका प्रतिनिधि, सोही आयोजनाका प्रमुख सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहभागि बैठकले मुआब्जा वितरण गर्ने निर्णय गरेको बताए ।
सांसद खतिवडाले प्रभावित जग्गाधनीका जग्गाको सडक केन्द्रबाट १५÷१५ मिटर दायँबायाँ ३० मिटर मध्येबाट कालोपत्र सडकको ४.५ मिटर कटाएर २५ मिटरको जिल्ला स्तरीय मुआब्जा निर्धारण समितिले तोकेको दररेटमा मुआब्जा उपलब्ध गराउनका लागि आयोजनालाई निर्देशनसमेत दिएको जानकारी दिए ।
यसैगरी, बाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले साबिक कायम भएको सडक सरकारको भएको तर मुआब्जा दिएको प्रमाण नदेखिएकाले जिल्लाका स्थानीय, प्रदेश, सङ्घीय सरकारका प्रतिनिधिहरुले संयुक्तरुपमा मुआब्जा दिनुपर्ने माग राख्दै आएका बताए ।
आयोजनाको तथ्यांकअनुसार गत आव २०७६÷७७ मा मुआब्जा क्षतिपूर्ति कूल अनुमानित लागत ६ अर्बमध्ये ९९ करोड रहेको छ । तीमध्ये वित्तीय प्रगति १७ प्रतिशत भई ५२ करोड विनियोजन समेत भएको छ । कूल जम्मा खर्च १ अर्ब ५० करोड वितरणमा २५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।
स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डमध्ये १७ किमिको काम भने चीन सरकारबाट निर्माण हुनेछ ।