तनहुँ– जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् ।
भिमाद नगरपालिका–९ भाटडाँडाका रुद्रबहादुर क्षेत्रीले धान गोडमेल गरिसके पनि मल अभाव भएको बताए । जताततै मलको खोजीका लागि भौँतारिए पनि मल पाउन नसकेको क्षेत्रीको गुनासो छ । ‘मलाई सात केजी मात्रै भए पनि पुग्थ्यो तर जिल्लाभर नै मल पाउन सकिएन,’ उनले भने ।
- ‘दुई महिनादेखि युरिया मल छैन, मल खरिदको प्रक्रिया सुरु हुने बेला बन्दाबन्दी भयो, समयमा टेन्डर प्रक्रिया हुन सकेन,’ उनले भने ।
व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेल धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गरे । ‘दुई पटक मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,’ उनले भने, ‘मल नै हाल्न नपाएपछि खेती सप्रिएला जस्तो लागेन ।’
‘कृषि सामग्री कम्पनी तनहुँमा फोन गरेर मल आयो भनेर सोध्छु तर मल आएको खबर आउँदैन,’ पौडेलले भने ।
हरेक वर्ष मलको अभाव हुने गरे पनि यस वर्ष भने लकडाउनका कारण कृषक मारमा परेको उनको भनाइ छ । सरकारले कृषकलाई कृषि खेतीमा लाग्न प्रोत्साहन गर्ने नीति लिएको बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको किसानको गुनासो छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख बलबहादुर पन्थले बर्सेनि मलको अभाव हुँदै आएको भए पनि यसपटक भने कोभिड–१९ का कारण कृषकलाई समयमै मल उपलब्ध गराउन नसकिएको बताए । ‘दुई महिनादेखि युरिया मल छैन, मल खरिदको प्रक्रिया सुरु हुने बेला बन्दाबन्दी भयो, समयमा टेन्डर प्रक्रिया हुन सकेन,’ उनले भने ।
लिमिटेडले अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा युरिया ५२० र डिएपी ४८९ मेट्रिक टन बिक्री गरेको जनाएको छ । कम्पनीमार्फत तनहुँ ७८, लमजुङ ३६ र गोरखाका चार सहकारीले मल बिक्री वितरण गर्दै आइरहेका छन् ।