काठमाडौं– ऐतिहासिक रानीपोखरी पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गत वैशाखमा नै सक्ने गरी काम अघि बढेको थियो ।
कारोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
बन्दाबन्दीअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । हाल ३२ कामदारले मात्रै काम गरिरहेका छन् ।
पानी राख्न केही समय लाग्ने
गत साउनको दोस्रो साता नै पोखरी निर्माण सम्पन्न भइसकेको थियो । त्यसमा पानी राख्न केही समय लाग्नेछ । अहिले पोखरीमा अकासको पानी मात्र राखिएको छ । दरबार हाईस्कुल र त्रिचन्द्र कलेजबाट आकासको पानी सङ्कलन गरी पोखरीमा राखिएको छ । दीर्घकालीन रुपमा ती पोखरीमा पानी कहाँबट राख्ने भन्ने बारे छलफल भइरहेको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।