काठमाडौं– वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ स्थित लिदी पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ । लिदीमा पहिराबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो ।
ती सौर्य प्रणालीहरु जुगल गाउँपालिका–१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुुसूदन अधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ ।
गत साउन ३० गते आएको भीषण पहिरामा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन् । पहिरोबाट १७२ घर जोखिममा परेका छन् ।
राहत सामाग्री वितरण कार्यक्रममा सभामुख सापकोटाले सिन्धुपाल्चोक लिदी, बाह्रबिसे, भोटेकोशी, मेलाम्चीलगायत विभिन्न स्थानमा यसै वर्षायाममा गएको पहिरोबाट ७५ जनाले ज्यान गुमाइसकेको बताउँदै जिल्लामा परेका यस महाविपत्तीको घडीमा सहयोग गर्न आग्रह गरे । देशमा महामारीको रुपमा फैलिरहेको कोरोना भइरसको त्रासको बाबजुद पनि पीडितहरुको शिविर स्थलसम्म आएर सौर्य ऊर्जा वितरण गरेकामा केन्द्रलाई धन्यवाद दिए ।