झापा– झापा गाउँपालिका–३ मा प्रहरीको गोली लागी बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई १० लाख क्षतिपूर्तिबापत रकम उपलब्ध गराउनेलगायत सातबुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चबापत गाउँपालिकाले ५० हजार उपलब्ध गराउनेछ ।
त्यस्तै छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिबापत संघीय र प्रदेश सरकारसँग १० लाख उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी अन्त्येष्टि गर्नेलगायत सहमति भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
सहमतिपछि शुक्रबार परिवारले शव बुझ्नेछ । सो घटनाको थप अनुसन्धान गर्न गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुखसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाइएको छ । छलफलमा संघी सांसद, प्रदेशसभा सदस्यसहित स्थानीय जनप्रतिनिधि, पीडित परिवार, राजनीतिक दल र सामाजिक अगुवाको सहभागिता थियो ।