काठमाडौं - रूसी प्रहरीले विपक्षी नेता नाभाल्नीको अस्वस्थताको कारण खोज्न बिहीबार प्रारम्भिक अनुसन्धान सुरु गरेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जानकारी गराएको छ ।
जर्मनीका चिकित्सकहरूले रूसी विपक्षी नेता नाभाल्नीलाई बिषाक्त पदार्थ सेवन गराइएको हुनसक्ने बताइरहेका समय रूसी प्रहरीले नाभाल्नी विमान चढ्नुपूर्वको अस्वस्थताबारे छानवीन सुरु गरेको हो ।
प्रहरीले घटनालाई आपराधिक मुद्दा अन्तर्गत अनुसन्धान सुरु गर्ने वा नगर्ने विषयमा प्रमाणका आधारमा अघि बढ्ने बताएको छ । साइबेरियाको यातायात प्रहरीले नाभाल्नी कसरी विरामी भए भन्नेबारेमा ‘प्रारम्भिक छानवीन’ गरेको हो ।
एक हप्ता पहिले नाभाल्नी साइबेरियाली शहर टम्स्कबाट मस्कोका लागि उडेको केही बेरमा स्वासप्रस्वासमा असजिलो भएको बताएको केही बेरमा बेहोस भएका थिए ।
त्यसपछि विमानलाई बिचमा नै आपतकालीन अवतरण गरी ओम्सकस्थित अस्पताल भर्ना गरिएको थियो । विपक्षी नेताका प्रवक्ता तथा पारिवारिक स्रोतले उनले विमान चढ्नु पहिले चिया लिएको र त्यसैमा विषाक्त पदार्थ मिसाइएको आशङ्का गरेका छन् ।
तर रूसी चिकित्सकले उनलाई विषाक्त पदार्थ सेवन गराइएका केही सङ्केत नभेटिएको जनाएका थिए । नाभाल्नीको परिवारको माग अनुसार उनलाई अहिले जर्मनी लगिएको छ । रासस