सान फ्रान्सिस्को– लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्ससहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै चिनियाँ कम्पनीहरु अहिले संकटमा छन् । राष्ट्रपति ट्रम्पको आदेशविरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन वीच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् ।
उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हाल्नेछन् । टिकटकले पनि मायरले राजीनामा दिएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ ।
गत अगस्ट ६ मा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकामा टिकटकलाई आफ्नो स्थिति प्रस्ट गर्न ४५ दिनको समय दिइएको छ ।