काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन् । गिरीजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका शाखाले आज आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका हुन् ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष एवं कांग्रेस नेतृ सुजाता कोइरालाले कोभिड–१९ को असरसँगै अब नेपाललाई आत्मनिर्भरतर्फ लैजानुपर्ने बताए । उनले भने, ‘नेपाल आर्थिक समृद्धिका लागि प्रशस्त सम्भावनायुक्त भएको मुलुक हो, यहाँको प्राकृतिक स्रोतलाई सही ठाउँमा प्रयोग गरेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ ।’
नेतृ कोइरालाले नेपालमै उत्पादित जडीबुटीको सहि प्रयोग गरेर आयुर्वेद औषधिको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै कोभिड—१९ पछि मुलुक अब प्रविधिमा जानुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले पछिल्लो समय कोभिड–१९ महामारीको चरणमा मुलुक प्रवेश गरेको बताउँदै यसलाई रोक्नका लागि सिङ्गो कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले कोभिड–१९ लाई चुनौतीका रुपमा भन्दापनि अवसरको रुपमा लिएर अगाडि बढाउनुपर्ने बताउँदै सरकारले आगामी दिनमा स्वास्थ्यमा लगानी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कोभिड—१९ ले नेपालको अर्थतन्त्रमा मात्र नभएर सबै क्षेत्रमा असर पारेको उल्लेख गर्दै महामारीले लोकतन्त्रलाई बलियो बनाउने सम्भावना कम हुँदै गएको बताए ।
फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कोभिड–१९ ले पारेको प्रभाव र आगामी दिनमा चाल्नुपर्ने कदमबारे फाउन्डेसनले निरन्तर आवाज उठाउँदै आएको बताए ।