काठमाडौं— उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको बताएका छन् । उनले आज विज्ञप्ति जारी गरेर भनेका छैन, ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानुनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन ।'
‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु,’ उनकाे विज्ञप्तिमा उल्लेख छ, ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’
विगतमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाही शासनका तिनै मतियारहरू समेत नयाँ ढंगले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गरेका छन् ।
