राजविराज– सप्तरीमा लगाइएको धानबालीमा गवारो रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । एक महिनाअघि आएको बाढीले धानबालीमा ठूलो क्षति पु¥याएको र अहिले गवारो रोग देखिन थालेपछि किसान थप चिन्तित बनेका हुन् ।
पुतली प्रजातिको गवारो किराले धानको गाभा काटेर क्षति गर्ने गरेको किसान बताउँछन् । किराको प्रकोप बढ्दै जाँदा धानको बोट सुकेर पहेंलो हुन थालेको छ । एक महिनाअघि आएको बाढीबाट बचेका धानबालीमा अहिले गवारो रोगले नष्ट हुन थालेपछि आफूहरु चिन्ता बढेको अर्का किसान लाल माझीले बताए ।
जिल्लाको तिलाठी कोइलाडी, विष्णुपुर, बालन बिहुल र खडक गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकालगायत क्षेत्रको धानबालीमा गवारो रोगको प्रकोप बढी देखिएको छ । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखि ७० प्रतिशत क्षति पु¥याएको बताए । रोग नियन्त्रणका लागि प्रदेश र संघीय सरकारलाई पनि सहयोग गर्न आग्रह गरिएको उनले बताए ।
कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले खेतमा प्रयोग गरिने रासायनिक मल, डिएपी, युरिया, पोटासलगायत मात्रा नमिल्दा पनि बालीको जरा कमजोर भई किराको आक्रमण बढेको बताए । प्रकोप रोकथाम तथा नियन्त्रणका लागि प्राविधिक खटाइएको बताए ।
जिल्लाको उत्तरी भागमा गवारो किराको प्रकोप बढी देखिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सप्तरी, सिरहालगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा यो रोगले धानबालीमा क्षति गर्ने गरेको छ । किसानमा प्राविधिक ज्ञानको कमी र किराका लागि अनुकूल वातावरण भएका कारण गवारो रोगेको प्रकोप बढी देखिएको बताइएको छ ।
गवारो रोगका लागि कोलोरो पाइरिफस नामक विषादी प्रयोग गर्न किसानलाई सुझाएको कृषि प्राविधिकको भनाइ छ । रोग हेरेर मात्र विषादीको प्रयोग गर्न पनि उनीहरुको सुझाव छ ।
जिल्लामा यस वर्ष ६२ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानबाली गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।