काठमाडौं– नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको हो ।
गत बुधबार प्रतितोला एक लाख ४ सय पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ६ सयले घटेको छ । महासङ्घका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला ४ सयले घटेको छ ।
बुधबारका छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३ सय तोकिएको छ । मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय थियो । यस्तै चाँदी पनि प्रतितोला १० ले घटेर तोलाको रु एक हजार ३ सय १० पुगेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो ।
नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५ सय र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो ।