काठमाडौं– उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज तीनै जिल्ला (काठमाडौं ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको बैठक बस्दै छ । बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी उपत्यकाको अवस्थालाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ ।
समीक्षाको आधारमा निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । प्राप्त सूचनाअनुसार आगामी एक साता निषेधाज्ञा थपिने सम्भावना अधिक छ । विभिन्न क्षेत्रबाट अझै एक हप्ता थप्नुपर्ने सुझाव समेत आएको छ ।
यसअघि साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।
आज सोही विषयमा छलफल गर्न अपराह्न बैठक बोलाइएको र बैठकमा अहिलेसम्मको गतिविधिबारे समीक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।