काठमाडौं– कोभिड–१९ का कारण देशका अन्य क्षेत्रमा जस्तै बालबालिकाको क्षेत्रमा पनि निक्कै असर गरेको छ । यहि असरलाई ध्यानमा राखेर मंगलबार कोभिड–१९ का कारण बालबालिकामाथि परेको प्रभाव सम्बन्धी दक्षिण एसियाली राष्ट्रहरुको सहकार्य विषयक वेभिनारमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् । उनले सरकारले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरेपनि कोभिड–१९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरु सडकमा देखिने जोखिम रहेको समेत बताए ।
मन्त्री गुरुङले नेपालमा दश वर्षे जनयुद्ध, भुकम्प, विभिन्न महामारी, बाढी पहिरो र खडेरीका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रभावित भएको र सडकमा आइपुगेको बताए । ‘अहिले कोभिडले पनि बालिबालिकाहरुमाथि ठूलो प्रभाव पारेको छ, यस्तो संकटका बेला उनीहरुको संरक्षण, स्वास्थ्य, शिक्षासहितका अधिकारको सुनिश्चितता गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
मन्त्री गुरुङले सरकारले बालबालिकाका समस्या सम्बोधन गर्दै समाधान गर्नकालागि दश वर्षे रणनीतिक योजना बनाएर बाल अधिकार प्रवद्र्धन र संरक्षणको प्रयास गरिरहेको बताए । ‘दश वर्षे कार्ययोजना मन्त्रीपरिषद्मा पुगेको छ, अन्य नियमावली र कार्यविधिहरु पनि समायानुकुल परिवर्तन गर्दै अघि बढेका छौं,’ मन्त्री गुरुङले भने, ‘बालबालिकाका नाममा भएका विकृति अन्त्य गर्न सरकार जस्तो सुकै कदम चाल्न पनि तयार छ ।’ उनले नेपाल बाल संगठनलाई पुनर्गठन गर्ने तयारी गरेको बताए ।
यो वर्ष बाढीपहिरो र कोरोनाका कारण धेरै बालबालिका सडकमा देखिने जोखिम रहेको भन्दै मन्त्री गुरुङ्ले सडक बालबालिका मुक्त घोषणा गर्ने तयारी रहेको सुनाए ।