रुकुमपश्चिम– कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड —१९ को परीक्षणका लागि भनेर पठाएको कीटले काम गर्न सकेको छैन ।
प्रदेशअन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयले पिसिआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने कीट पठाएकोमा सो कीटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ । काम गर्ने नभएपछि सो किट प्रयोगशालामै थन्किएको छ । निर्देशनालयले सो किटसँगै एक्सट्रयाक्सन किट पनि भदौ ३ गते प्रयोगशालामा पठाएको थियो ।
निर्देशनालयले पठाएको किटले पिसिआर परीक्षणको नतिजा दिन नसकेको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिए । पिसिआर र एक्ट्रयाक्सन किटले कुनै व्यक्तिमा कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने काम गर्छन् । सो कीटले कोरोना भाइरस पोजेटिभ वा नेगेटिभ नै छुट्याउन नसकेको सह–संयोजक शर्माको भनाइ छ ।
यसअघि पनि यो किट निर्देशनालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख प्रयोगशालामा पनि पठाएको बुझिएको छ । त्यहाँ पनि काम नगरेपछि फिर्ता भएका सो किट चौरजहारीमा पठाएको सह–सह–संयोजक शर्माले बताए ।