काठमाडौं– उपत्यकालगायत देशभरमा कोभिड–१९ को संक्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह)ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ संक्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ ।
नेपालमा कोभिडको संक्रमण सुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित संक्रमित र संक्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए ।
उनले भने, ‘सम्भावित महिलालाई अरुभन्दा छुट्टै राखेर पोजेटिभ आए मात्रै आइसोलेसनमा राखिनेछ ।’
अस्पतालले अहिलेसम्म विभिन्न कुराका आधारमा झन्डै एक सय महिलालाई सम्भावित संक्रमितका रुपमा अरुभन्दा छुट्टै राखिसकेको
थियो । तीमध्ये एकमा पोजेटिभ देखिएकीलाई पाटन अस्पताल पठाइएको थियो ।