सिँजा– जुम्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब पाँच सय भेडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेडा मरेका हुन् ।
पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण भने केही समयमा आउनेछ ।
चरण क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेडापालक किसानको पुख्र्यौली पेसालाई नै बज्रपात परेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो ।
बुढथापाले भने, ‘सबै भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुस्किल पर्ने अवस्था आएको छ ।’
जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करिब सात सय भेडा मरेका थिए ।–रासस