काठमाडौं– डिलाशैनी गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । परिवारका सदस्य गुमाएका डिलाशैनी–४ बलालीका ऐते बोहरालाई राहत तथा क्षतिपूर्ति दिइएको हो । गत साउन २२ गते राति सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा ऐतेकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको ज्यान गएको थियो । यस्तै घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।
पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले चार लाख राहत दिएको हो । विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । पीडित परिवारको खातामा एकमुष्ठ चार लाख जम्मा गरिदिएको हो ।
परिवारका एक सदस्यको मृत्यु भएमा दुई लाख र सोही परिवारका अर्का सदस्यको मृत्यु भएमा थप एक लाख दिने व्यवस्था रहेको नेगी बताउँछन् ।