काठमाडौं– उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उपत्यकाका स्थानीय तहबाट पुनःसञ्चालन हुँदै आएका सेवामध्ये अत्याश्यकबाहेक सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकामा पुनः भदौ दोस्रो हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो । उपत्यकामा कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरिएको छ ।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयको टोलीसहित मंगलबारदेखि नै उपत्यकाका पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण अघि बढाइने जानकारी दिए ।
अहिलेसम्म उपत्यकाका पालिकाको तथ्यांकअनुसार २ हजार ७ ४६ संक्रमित भेटिएकाले करिब २८ हजार ५ सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको प्रमुख शाक्यले बताए ।
बैठकले ढिलोमा भदौ १५ गतेसम्म अनुमानित सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने निर्णय गर्दै संक्रमणबाट सकेसम्म बच्नका लागि सबै नागरिकलाई आग्रह गरेको छ ।
उपत्यकामा १५ हजार संक्रमित
बैठकमा सहभागी स्वास्थ्यमन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए ।
‘काठमाडौंभित्र कम्तीमा १५ हजार संक्रमित रहेको हुन सक्ने अनुमान छ,’ उनले भने, ‘हामीले त्यो घेरा तोड्न सकेनौं भने अवस्था भयावह हुन सक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’
कोरोना महहामारी नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसन गर्ने विधिलाई प्राथमिकता दिनुपर्ने बैठकमा सहभागीको माग थियो ।