काठमाडौं– कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने व्यक्तिहरु र उनीहरूको परिवारमाथि अपमानजक व्यवहार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा खटिएका र कोरोना संक्रमितमाथि अमानवीय र अपमानजनक गतिविधि गर्ने व्यक्तिलाई कारबाही गर्ने जानकारी गराएको हो ।
जिप्रकाका प्रशासकीय अधिकृत यज्ञराज जोशीका अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, सर्वसाधारण, संक्रमित तथा निजहरुका परिवारमाथि अमानवीय कार्य गर्नेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र अन्य प्रचलित कानुन अनुसार कारबाही गरिनेछ ।
पछिल्लो समय स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोठामा बस्न नदिने, कोठाबाट जबर्जस्ती निकाल्ने जस्ता अमानवीय गतिविधि बढेको थियो । यसबाट समाजमा प्रतिकूल असर पर्ने भएकाले त्यस्ता गतिविधि रोक्न सबैलाई सचेत गराइएको हो ।
सूचनमा भनिएको छ, ‘कुनै व्यक्ति वा संस्थाबाट यस्ता गैरकानुनी, अमानवीय एवं अपमानजनक व्यवहार गरेको पाइएमा संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन २०२८ एव अन्य प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।’
जिप्रका भक्तपुले कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणमा खटिने व्यक्ति तथा संक्रमितमाथि गैरकानुनी, अमानवीय र अपमानजनक व्यवहार नगर्न अनुरोध गरेको छ ।
