काठमाडौं– पत्रकार महासंघले फिल्डमा खटिने सञ्चारकर्मीहरुको नि:शुल्क पिसिआर परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । महासंघले आज प्रेस रिलिज निकाल्दै नि:शुल्क पिसिआर परीक्षणको माग गरेको हो ।
संघका महासचिव रमेश विष्ट जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पछिल्ला दिनहरुमा नेपालमा पनि तीब्र गतिमा फैलिँदै गइरहेको छ । महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेका छन् ।’
अगाडि भनिएको छ, ‘संक्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको छ । हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । नेपाल पत्रकार महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको नि:शुल्क पिसिआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्दछ ।’
साथै, महामारीको यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह गरिएको छ । सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको उपलब्ध गराउन आग्रह गरिएको छ ।