काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको नमूना सङ्कलनको काम शुरु गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम शुरुआत भएको जानकारी दिए । हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना सङ्कलन गर्न थालिएको छ ।
हात्ती प्रजनन केन्द्र खोरसोरमा २० र सौराहामा आठ हात्ती छन् । ती हात्तीको नमूना सङ्कलन गर्न चारदेखि पाँच दिन समय लाग्ने छ । यसपछि पोष्टमा रहेका हात्तीको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइने छ । काठमाडौँको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ ।
अहिले क्षयरोगको मात्र परीक्षण गरिने भएकोे । सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन् । सो अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ ।