बैतडी– सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै छ । व्रतालु महिलाले हिजो भिजाएका बिरुडालाई नजिकका धारा र तलाउमा लगेर धुने चलन छ । आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ ।
सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।
हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रहेको सुर्नया गाउँपालिका–६ का हरिना अवस्थीले बताइन् । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन छ । उनले भनिन्, ‘आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ । बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्छन् ।’