काठमाडौं - टोखा नगरपालिकाले कोरोनाा नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।
नगरपालिकाले अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले कोरोना नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरीका आधारमा १०० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
यस्तै बैठकले अप्रत्यक्ष रुपमा खटिने अन्य सवारी चालक र स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलनमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । रासस