काठमाडौं– सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । डिसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।
सुनसरीमा यही भदौ १४ गते राति १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिएर सङ्क्रमितको संख्या दैनिक रुपमा बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न तथा फैलिन नदिन भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।
यस्तै, छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चोकमा यही भदौ १ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही भदौ १४ गते सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो ।