काठमाडौं– चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।
अस्पतालहरुमा सङ्क्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । हालसम्म जिल्लामा ३५२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन् । स्वास्थ्य कार्यालय चितवनका गीताञ्जलि ढकालका अनुसार यसै जिल्लामा घर भई यहाँका अस्पतालहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी ४१ जना सङ्क्रमित भएका छन् ।
सबैभन्दा बढी विपी कोइराला मोमोरियल क्यान्सर अस्पतालका १७, भरतपुर अस्पतालका १४, चिवतन मेडिकल कलेजमा एक, पुरानो मेडिकल कलेजका तीन जना छन् । त्यसैगरी रत्ननगर बकुलहर अस्पताल रत्ननगरका एक, सेन्ट्रल अस्पतालका दुई, मनकामना अस्पतालका एक, नारायणी सामुदायिक अस्पतालका दुई र अन्य साना अस्पताल एवं मेडिकलका तीन जना छन् ।
ढकालका अनुसार यहाँका अस्पतालमा काम गर्ने बाहिरी जिल्लाका आठभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यो सङ्ख्या दैनिकरुपमा बढ्दो छ । अन्य रोग लिएर अस्पताल आएकाहरुको उपचारकै क्रममा कोरोनाको सङ्क्रमण देखिएर मृत्यु समेत हुन थालेका छन् । अस्पतालमै रोग फैलिएर वा उनीहरुले समुदायबाट रोग ल्याएका हुन् भन्ने यकिन हुन सकेको छैन ।
जिल्लामा पछिल्लो दुई दिनयता मृत्युपछि दुई जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती दुवै जना मकवानपुरबाट आएका हुन् । उनीहरुमध्ये एक महिलालाई एपेण्डिसाइड र अर्का वृद्ध पुरुषलाई हर्निया भएको थियो । दुबै जनाको पुरानो मेडिकल कलेजमा उपचार गरिएको थियो । कलेजका निर्देशक डा.मनोहर प्रधानका अनुसार अहिले अस्पतालमा उपचाररत दुई जनामा पनि सङ्क्रमण देखिएको छ ।
यसअघि सोही कलेजमा उपचार गराइरहेका दुई जनामा सङ्क्रमण देखिएपछि भरतपुर अस्पताल पठाइएको थियो । एक जना मृतकको नतिजा आउन बाँकी छ । अस्पतालका दुई चिकित्सक पनि सङ्क्रमित भएका छन् । यससँगै ३० जना डाक्टरसहित ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी आइसोलेसनमा रहेको उनको भनाइ छ ।
अस्पतालमा भारत र सीमा क्षेत्रका बिरामी बढी आउँछन् । पछिल्लो समय अस्पतालको व्यवस्थापन राम्रो हुन नसक्दा पनि सङ्क्रमण नियन्त्रणमा कठिन भएको उनले स्वीकार गरे । रोग अस्पतालमा फैलिएको आशंकामा बिरामी त्रसित भएका छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी समुदायबाटै रोग अस्पताल आएको अनुमान लगाउनु हुन्छ । अस्पतालहरुले उपचारमा विशेष सावधानी पु¥याउनु पर्ने उनको भनाइ छ ।
कोरोनाका बिरामी छुट्याएर चिकित्सक र स्वास्थ्यकर्मी आलोपालो गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार उपचार गर्नु पर्ने उनले बताए । यसरी सङ्क्रमण बढ्दै गएमा उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी नै नहुने उनको चिन्ता छ ।
-रासस