काठमाडौं– सुन्दा पत्यार नलाग्न सक्छ तर अर्बाैं सम्पत्ति भएको नेपाल बाल सङ्गठन (बाल मन्दिर) मा रहेका बालबालिकालाई कैदीको जस्तो व्यवहार गरिएको छ । त्यहाँ बालबालिकालाई आवश्यक पर्ने न्यूनतम् पौष्टिक आहारमा समेत कटौती गरिएको छ भने बालबालिकालाई साँघुरा कोठामा राखिएको छ ।
कुनै बालबालिकालाई कोरोना सङ्क्रमण भइहालेमा पनि कसरी सामाजिक दूरी कायम गराउने भन्ने वैकल्पिक योजनासमेत संस्थासँग छैन । भवनमा आगलागी वा कुनै दुर्घटना भएमा बालबालिका भाग्ने वा बचाउने सुरक्षा र उद्धारका न्यूनतम् उपायसम्म पनि सोचिएकै छैन । त्यो भन्दा रोचक त, बाल सङ्गठनमा रहेका बालबालिकाको संरक्षणका लागि सुरक्षा गार्डको पनि प्रबन्ध गरिएको छैन । भवनभित्र हुने घटना र विवरणको अनुगमनका लागि सिसी क्यामरा पनि जडान गरिएको छैन ।
विनासकारी भूकम्पबाट ध्वस्त भवनको पुनःनिर्माण जारी रहेकाले भवनको अपर्याप्त देखिन्छ तर सङ्गठनले आफ्ना अन्य ठूला ठूला भवन र जग्गाहरु बाहिरी पक्षलाई विवादितरुपमा लामो समयका लागि भाडामा लगाएको छ । बाल सङ्गठनको दुरावस्थाबारे यो कुनै बाह्य पक्षको आरोप वा टिप्पणी होइन, त्यहाँको वर्तमान नेतृत्वले देखेको अनुभूति हो, जहाँ बालबालिकालाई मानवोचित व्यवहार नभएको उनीहरुकै भनाइबाट स्वतः स्पष्ट हुन्छ ।
सङ्गठनमा गत महिना नेतृत्वको जिम्मेवारी सम्हालेर त्यहाँ पुग्दा आफूले बालबालिकाको स्थिति दयनीय देखेपछि भावुक भएको अध्यक्ष विद्या न्यौपानेले बताइन् । शिक्षा पत्रकार समाज (सेज) सँगको आजको भर्चुअल संवादमा उनले भने, ‘यो भन्नुपर्दा मलाई लाज लाग्छ तर त्यहाँ बालबालिकाहरु बन्दीगृहमा रहेका जस्तो अनुभव हुन्छ । मैले यो कुनै आवेश वा भावनामा आएर बोलेको होइन । त्यो दृश्यले मलाई भित्रसम्म चोट परेकाले भन्न बाध्य भएको हुँ ।’
अनाथ बालबालिकालाई उचित संरक्षण र शिक्षादीक्षाका लागि राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम तत्कालीन रानी रत्न राज्यलक्ष्मीको संरक्षकत्वमा यो संस्था खडा भएको हो । हाल सो संस्थाको हेरचाहमा नक्साल र सिफलमा गरी १९८ बालबालिका छन् । यसमध्ये नक्सालमा ८४ बालबालिका र आठजना आमाहरु बस्दै आएका छन् ।
रासस