काठमाडौं - चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ ।
दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो ।
निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो ।
त्यस दिन काठमाडौँबाट २५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो ।
जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो । उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए ।
हालैको मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो । मन्त्रिपरिषद्को यही बिहीबार बसेको बैठकले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । रासस