काठमाडौं - जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४ सय जनालाई कारवाही गरेको छ ।
कार्यालय कारवाहीबाट एक लाख ४० हजार रुपैयाँ राजश्व सङ्कलन भएको पनि पजनाएको छ ।
तनहुँका नौ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाहीस्वरुप रु १०० का दरले जरिवाना गर्दा उक्त रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
हाल विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्देशनबमोजिम तनहुँ जिल्लावासी जनतामा सचेतना जगाउँदै आएको प्रजिअ आचार्यले बताए ।
पछिल्लो समयमा कोरोना भाइरस अनपेक्षितरूपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समुदायस्तरमा समेत देखापरेकाले वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामका लागि मास्क नलगाई पैदल हिँड्ने तथा सवारी साधन चलाई हिँड्ने व्यक्तिलाई कारवाही गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा गत भदौ १ गतेदेखि प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ । रासस