काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् ।
सरकारी अस्पतालका नर्सिङ, पारामेडिसिनहरुले व्यक्तिगत सुरक्षा कवच पिपिइ नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उनले अनुरोध गरे ।
यस्तै काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरुलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा गौतमले अनुरोध गरे ।
नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार ११७ जनामा सङ्क्रमण, १८ हजार ३५० जनामा सङ्क्रमण निको र १४६ जनाको सङ्क्रमणका कारणले मृत्यु भइसकेको छ ।
उपत्यकामा नमूना परीक्षणका लागि १४ वटा अस्तालमा स्वाब सङ्कलन केन्द्र राखिएको छ । त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्तपाल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल–चीनमैत्री अस्पताललगायतका १४ अस्पतालमा गई स्वाब दिनका लागि सङ्क्रमणको जोखिम भएका व्यक्तिलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । रासस