अछाम– अछामको रमारोशन गाउँपालिका–५ को कैलाश खोलामा आएको बाढीले निम्त्याएको वितण्डाबाट वडाध्यक्ष लक्ष्मण दमाइले मुस्किलले आफ्नो ज्यान जोखाए । उनी मुजाबगरस्थित खोला छेउमा रहेको एक होटलमा बास बसेको दिन मंगलबार राति १२ः०० बजेको समयमा खोलामा बाढीको वितण्डा मच्चिएको थियो ।
मुजाबगरदेखि दुई किलोमिटरको दूरीमा उत्तरतर्फ सोही खोलाको छेउमा रहेको सैनीबजारमा बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ । ‘राति एक्कासि गड्याङगुडुङको ठूलो आवाज सुनिएपछि होटलको भुइँतलामा सुतेका सबैलाई ब्युँझाउन थाले,’ दमाइले भने, ‘ढुंगा माटोसहितको बाढी होटलभित्र पस्न थालेपछि होटलको माथिल्लो तल्ला हुँदै ढोका तोडेर जमिनको अग्लो भागतिर हामफालेर ज्यान जोगायौं ।’
रमारोशन गाउँपालिका हुँदै बग्ने कैलाश खोला छेउमा सैनीबजार, खालबजार र मुजाबगर बजार छन् । बाढीपछि सैनी बजारका १७ जना बेपत्ता भएकामा छजना मृत भेटिएका छन् ।
रामारोशन गाउँपालिका–५ सैनी बजारका २२ वर्षीया बबिता बुढासाउद, ४५ वर्षीय अम्मर साउद, घाइते हिक्मतबहादुर शाहकी ३० वर्षीया श्रीमती गौरी शाह, ४८ वर्षीय चन्द्र साउद र नन्दु साउँदका १२ वर्षीय छोरा नवीन साउद तथा पञ्चदेवल विनायक नगरपालिकाकाकी ४५ वर्षीया लालसरा शाहीको शव फेला परेको थियो ।
बाढीमा परी बेपत्ता हुनेमा रमारोशन–५ सैनीबजारका ४७ वर्षीय नन्दु साउद, उहाँकी श्रीमती ४५ वर्षीया गङ्गा साउद, छोरा २३ वर्षीय रुपेश साउद, नातिनी प्राप्ति साउद र सासू आमा बीमादेवी साउद, सोही ठाउँका ५५ वर्षीया जोगा साउद र ४० वर्षीया पवित्रादेवी शाह छन् ।
यसैगरी समीर शाह, सम्झना शाह, वसुन्धरा साउद र वसन्त शाही पनि बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको भए पनि खोला ढुङ्गा लेदो माटोले पुरिएकाले बेपत्ता हुनेहरुलाई भेटाउने सम्भावना नदेखिएको जनाइएको छ ।
बाढीका कारण सैनीबजारमा रहेको हातेकागज उद्योग, अध्ययन केन्द्र, तरकारी सङ्कलन केन्द्रको घरसहित जम्मा २५ घरपसल बगाएको छ । सैनीबजारमा राति सुतिरहेकामध्ये हिक्मतबहादुर शाहको मात्र ज्यान जोगिएको छ । बाढीले घर भत्काउँदा घाइते हुनुभएका शाहकी दुई श्रीमतीलाई बाढीले बगाएको थियो । कान्छी श्रीमतीको शव फेला परेकामा जेठी श्रीमतीको अवस्था आजसम्म अज्ञात छ ।