काठमाडौं - टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ ।
कोरोना सङ्क्रमित विरामीको उपचारका लागि आज टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो ।
उक्त सेन्टरको आज नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे । सो अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा दिनानुदिन कोभिड–१९ का विरामी बढ्दै गएकाले आइसोलेसन सेन्टर स्थापना गरिएको जानकारी दिए ।
केहीदिन अघि उपत्यकाका नगरपालिका प्रमुखको बैठकले उपत्यकामा पाँच हजार शय्या क्षमताको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय अनुसार टोखा नगरपालिकाले पनि आइसोलेसन सेन्टर विस्तार गरेको हो ।
यो नगरपालिकामा हालसम्म ९२ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये २९ जना निको भएर घर फर्केका र ६३ जनाको उपचार भइरहेको नगरप्रमुख अधिकारीले जानकारी दिए ।–रासस