काठमाडौं– विदेशमा अलपत्र नेपाली नागरिकलाई होटल क्वारेन्टिनमा राख्ने गरी उद्धार गरिने भएको छ । भदौ ४ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दैनिक पाँच सयका दरले नेपाली नागरिकको उद्धार गर्ने निर्णय गरेको हो
‘आरटी–पिसिआर परीक्षण सहज भएका मलेसिया, युएइ, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल आउन अनुमति पाएका नेपाली नागरिक, नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरु, संयुक्त राष्ट्र संघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र ल्याइने गरी नियमित उडान गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता खतिवडाले भने ।
त्यस्तै, आरटी–पिसिआर परीक्षण सहज नभएका साउदी अरब, कुवेत, कतार वा अन्य मुलुकबाट उडानबाट यात्रुहरू ल्याइन नपाइने निर्णय गरेको छ ।
यात्रुले पेस गर्नुपर्ने कागजपत्र
- जहाज चढ्नु ७२ घण्टाभित्रको आरटी–पिसिआर नेगेटिभ भएको प्रमाणपत्र
- सिएमसीको वेबसाइटमा रहेको अनलाइन फर्म भरेर सोको बारकोड वा प्रिन्ट कपी
- होटल बुकिङको प्रमाणपत्र
‘होटल क्वारेन्टिनमा बस्ने सर्त मन्जुर गरी नेपाल आउने यात्रुले होटल खर्च बेहोनुपर्ने भएको छ । यात्रुबाट लिइएको शुल्क एयरलायन्सले सम्बन्धित होटललाई भुक्तानी गर्नुपर्नेछ,’ खतिवडाले भने ।
आरटी–पिसिआर परीक्षण नगराएका र होटल बुकिङ नगरेका यात्रु लिएर आउने वायुसेवा कम्पनीलाई कारबाही गर्ने निर्णयसमेत भएको छ ।