काठमाडौं– रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्याबारे छानबिन गर्न माग गरिएको छ । कांग्रेस नेता गगन थापाले साह हत्याको सत्यतत्य छानबिन गर्न माग गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘गोली हानी हत्या गरेको तीन दिन बितिसकेको छ। घटनाको अनुसन्धान के भइरहेको छ ? अनुसन्धानमा विलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानुनी कारबाही गर्न सरकारसँग आग्रह गर्दछु ।’
त्यस्तै, विश्व हिन्दु परिषद्, नेपालले साहको हत्यामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । अज्ञात समूहले नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहको कन्चटमा गोली हानी हत्या गरेका थिए।