मनाङ– कोरोना संक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ संक्रमित भेटिएका छन् । लामो समयदेखि मनाङमा सक्रिय संक्रमति शून्य थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा मोरङको विराटनगर र चितवनको भरतपुर घर भई मनाङमा कार्यरत दुई जनामा संक्रमण भएको जनाइएको छ ।
विराटनगर घर भएका ५७ वर्षीय र भरतपुरका ५१ वर्षीय पुरुष संक्रमण भएको विज्ञप्तिमा जनाइएको छ । यही भदौ २ गते १८ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा ती दुई जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुवराज आचार्यले जानकारी दिए ।
भरतपुर नगरपालिका–११ घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभूत विद्यालयका शिक्षक र विराटनगर–११ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । उनीहरूलाई जिल्लाको आइसोलेसनमा राखिएको छ ।