किमाथांका– संखुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेसन तोडफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेसनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।
आइसोलेसन तोडफोड र चोरी हुँदा १५ लाखका स्वास्थ्य सामग्री क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिए । जिल्ला अस्पतालले क्याम्पसमा १० शय्याको आइसोलेसन सेन्टर निर्माण गरेको थियो । जिल्ला अस्पतालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिई थान, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायत सामग्री चोरी गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले करीब पाँच महिना गाडि सहमतिमा नै क्याम्पसमा आइसोलेसन निर्माण गरेको थियो । गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टिन र आइसोलेशन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो । क्याम्पस प्रशासन र स्थानीयले जोखिम बढ्ने भनी आइसोलेसन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो ।
आइसोलेसन तोडफोड गर्ने अहिलेसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।