काठमाडौं– धितोपत्र व्यवसायीको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनद्वारा आज यहाँ जारी विज्ञप्तिमार्फत धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट आइपिएसलगायतका विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध हुन र सोहीअनुसार कारोबार गर्न भनेको हो ।
यस्तै, धितोपत्र दलाल व्यवसायीलाई अग्रीम रुपमा तथा धितोपत्र खरिदपश्चात गर्ने भुक्तानीसमेत विद्युतीय माध्यमबाट मात्रै गर्न आग्रह गरिएको छ । राजधानी काठमाडौंलगायतका विभिन्न स्थानमा कोरोनाको संक्रमण फैलिएपछि सरकारले निषेधाज्ञा घोषणा गरेको सन्दर्भमा त्यसलाई पूर्ण रुपमा परिपालना गर्दै एसोसिएसनले यस्तो विषम अवस्थामा सिमित बैंकिङ कारोबार भएको तथा चेकमार्फत सेयर खरिद कारोबारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल व्यवसायीलाई अप्ठ्यारो पर्ने जनाएको छ ।
एसोसिएसनले नेपाल धितापत्र बोर्डले यही भदौ ३ गते जारी गरेको निर्देशन र त्यसमा उल्लेख भए अनुसार थप १५ दिन भित्रमा धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम विद्युतीय भुक्तानी माध्यमबाट मात्रै गर्न समेत पुनः स्मरण गराइएको छ ।