विराटनगर– रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया वितरण गर्ने तयारीमा साल्ट जुटेको छ ।
कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र ५ हजार ६०० मेट्रिक टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनका अनुसार उच्च गुणस्तरको उक्त युरिया मल प्रतिबोरा मूल्य ७०० कायम भएको छ भने सहकारीले प्रतिबोरामा १२ रुपैयाँ ५० पैसा छुट पाउने व्यवस्था गरिएको छ ।
विगतदेखि नुन, चिनी र रासायनिक मल किसानलाई उपलब्ध गराउँदै आएको यो कार्यालयले केही दिन पहिले ६ हजार मेट्रिक टन युरिया मल किसानलाई उपलब्ध गराइसकेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।
साल्ट ट्रेडिङले आफ्ना मातहतका झापाको विर्तामोड, सिरहाको लहान र सप्तरीको राजविराज तथा आफनै कार्यालयबाट मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाका किसानलाई मल उपलब्ध गराउँदै आएको छ ।