काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन् ।
इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले उक्त योजनाका बारेमा जानकारी गराएका हुन् ।
इराकमा पछिल्ला वर्षहरुमा इरान समर्थित अतिवादीहरुको प्रभाव बढ्न थालेको तथा इस्लामिक स्टेटका लडाकूहरु पुनः सक्रिय हुन थालेको भन्दै प्रधानमन्त्री मुस्तफाले राष्ट्रपति ट्रम्पसँग विचारविमर्श गरेका थिए ।
अमेरिकी सेनाको फिर्तीको समयसीमाका बारेमा सोधिएको एक प्रश्नमा अमेरिकी विदेशमन्त्री माइप पोम्पेओले हाम्रो अभियान समाप्त भएलगत्तै हामी इराक छाड्छौं भनेका थिए ।
उनले राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्न आदेश दिइसकेको र त्यही अनुसार काम अघि बढिसकेको जानकारी दिए । इराकमा हाल पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।
इराकभित्र इरान समर्थित लडाकूको चलखेल रोक्न अमेरिकाले विगतदेखि नै प्रयत्न गरिरहेको छ । रासस