दार्चुला– ‘जिल्ला अस्पताल दार्चुलाको बहिरंग सेवा (ओपिडी) कक्षबाहिर टाँसिएको ‘नेम प्लेट’ मा लेखिएको छ– मेडिकल अधिकृत डा. पूजा बम । बम थर देखेपछि अधिकांशले सोधखोज गरिहाल्छन्, उनी यही दार्चुलाकै हुन् कि भनेर ।
उनी दार्चुलाकै हुन् । पहिलो खुसी त यहाँका सबै जिल्लावासीमा आफ्नै जिल्लाकै चिकित्सक पाएकामा देखिन्छ । अझ त्यसभन्दा पनि बढी खुसी यहाँका महिला छन् । महिला चिकित्सक पाएपछि यहाँका पुरुषभन्दा पनि बढी महिला खुसी नहुने कुरै भएन । आफ्ना प्रसूतिजन्य जटिलता भन्न या देखाउन उनीहरुलाई पुरुषभन्दा महिला चिकित्सकसँग बढी सहज लाग्नु स्वाभाविकै हो ।
दार्चुलाको साविकको पिपलचौरी गाविस हाल दुहुँ गाउँपालिकामा जन्मिएकी बमको सानैदेखिको सेतो कोट लगाउने इच्छा पूरा भएको छ । ‘जति बेला म सानै थिएँ, अस्पताल जाँदा सेतो कोट लगाएका डाक्टरहरु देख्थें । त्यतिबेलैदेखि मलाई पनि सेतो कोट लगाएर वबरामीको सेवा गर्ने इच्छा पलाएको हो,’ बम भन्छन् ।
उनका बुबा धर्मबहादुर बम गाउँ नजिकैको विद्यालयको प्रधानाध्यापक थिए । उनलाई महेन्द्रनगर पढ्न पठाइयाे । ‘मेरो इच्छाअनुसार बुबाले पनि छोरी डाक्टर बनोस् भन्ने चाहना राख्नुभएको थियो,’ उनले भनिन् ।
उनले काठमाडौंमा एमबिबिएस पूरा गरिन् । सरकारी छात्रवृत्तिमा अध्ययन गरेकी बमले इन्टर्न सक्नेबित्तिकै रोजिन्, दार्चुला जिल्ला अस्पताल ।
अहिले जिल्ला अस्पतालमा आइसकेपछि गाउँको याद खुबै आएको उनी सुनाउँछिन् । ६ वर्षअघि एक पटक गाउँ पुगेको बताउने डा. बम अहिले डाक्टर भएर गाउँ जान पाउँदा खुबै खुसी हुने अनुभव बताउँछिन् ।
‘यहाँका ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्य समस्या नजिकबाट बुझेको छु, अझै बुझ्दै छु । चेतनास्तर नपुगेका कारण महिलाहरु अहिले पनि खुलेर आफ्नो रोगबारे भन्न सक्दैनन् । महिला डाक्टर हुँदा त आफ्ना प्रसूतिजन्य जटिलताहरु खुलेर देखाउन या भन्न यस्तो लाज मान्छन् झन् पुरुष डाक्टर हुँदा कस्तो थियो होला, मलाई त सम्झेरै अचम्म लाग्छ,’ उनले भनिन्, ‘रोग लुकाउँदा कैयौं महिलाको ज्यान जोखिममा पर्ने गरेको छ, अब चेतनास्तरमा वृद्धि गर्नुपर्छ यसरी रोग लुकाएर हुँदैन ।’
यहाँका महिलाहरुमा हुने स्वास्थ्यसम्बन्धी समस्याहरुबारे उनले भनिन्, ‘प्रायः सेतो पानी बग्ने, पिसाब समस्या, जस्ता रोग बढी देखिन्छन् । महिलामा कामको बोझ बढी छ । कामको बोझले गर्दा समयमै खानपिन छैन भने पानी त झनै कम खाने गरेको देखिन्छ ।’
आफ्नो ठाउँमा आएर सेवा गर्न पाउँदा निकै खुसी देखिन्छिन् डाक्टर बम ।
यहाँ दिनहुँ कम्तीमा ७० देखि ८० जना वबरामी आउने भएकाले यो ठाउँ साँघुरो भएको छ । ओपिडी पनि व्यवस्थित छैन र शव पोस्टमार्टम गर्ने भवन सानो पहिरोको टुप्पोमा छ । अस्पताल व्यवस्थापनमा सबैको ध्यान गए जिल्ला अस्पताल फेरिन्थ्यो । वबरामीको भीडभाड हुन्छ, यतिखेर देशमा कोरोना भाइरसको प्रकोप रहेकोले भीडभाड नगर्नु भन्ने खालका जनचेतनामूलक कार्यक्रम आवश्यक छ । यहाँ पुरुषभन्दा बढी स्वास्थ्य समस्यामा महिलाहरु छन् ।
स्थानीय जिल्लाले पहिलो पटक स्थानीय महिला डाक्टर पाएको छ । अहिले अस्पतालमा दुई महिला डाक्टर हुनुहुन्छ । अर्का महिला डाक्टर रेनु घलान ललितपुरकी छिन् । उनी गत माघदेखि यहाँ कार्यरत छिन् ।
गौरी बडाल भन्छिन्, ‘महिला डाक्टर नै आएपछि महिलाको समस्या भन्न सहज मानेका छौं, अरुको अनुभव पनि यस्तै छ । सबै महिला विरामीले आफ्नो समस्या पुरुष डाक्टरलाई भन्न सक्दैनन् । महिला डाक्टर आएपछि हामीलाई आफ्नो समस्या सुनाउन सहज भएको छ ।’